शुक्रबार, नोभेम्बर १४
तिमीहरूको सिँगार बाहिरी सिँगार नहोस्।—१ पत्रु. ३:३.
व्यावहारिकताले हामीलाई अरूको विचारको कदर गर्न मदत गर्छ। जस्तै: हाम्रा दिदीबहिनीमध्ये कसैलाई मेकअप गर्न मन पर्छ भने कसैलाई मन पर्दैन। केही ख्रिष्टियन ठिक्क मात्रामा रक्सी पिउन मन पराउँछन् तर कोही भने पिउँदैनन्। सबै ख्रिष्टियन स्वस्थ हुन चाहन्छन् अनि आफ्नो स्वास्थ्यको ख्याल राख्न फरक-फरक तरिका अपनाउँछन्। हामीलाई आफूले गर्ने छनौटहरू सधैँ सही हुन्छ जस्तो लाग्छ भने मण्डलीका भाइबहिनीलाई पनि आफूले जस्तै गर्न दबाब दिने हदसम्म पुग्न सक्छौँ। यसले गर्दा अरूलाई ठक्कर लाग्न सक्छ र मण्डलीमा फुट उत्पन्न हुन सक्छ। (१ कोरि. ८:९; १०:२३, २४) यहोवाले हाम्रो पहिरनको सन्दर्भमा कडा नियमहरू होइन बरु सिद्धान्तहरू दिनुभएको छ। हाम्रो पहिरनमा व्यावहारिकता, “सुझबुझ” र भद्रता झल्किनुपर्छ। (१ तिमो. २:९, १०) यस्तो पहिरनले परमेश्वरको महिमा गर्छ। हामी आफ्नो पहिरनले अरूको अनावश्यक ध्यान खिच्न चाहँदैनौँ। बाइबल सिद्धान्तहरूले एल्डरहरूलाई पहिरन र हेयर स्टाइलबारे आफ्नै नियमहरू नबनाउन मदत गर्छ। w२३.०७ पृ. २३-२४ अनु. १३-१४
शनिबार, नोभेम्बर १५
मेरो कुरा ध्यान दिएर सुन, तब तिमीहरूले असल-असल थोक खान पाउनेछौ। अनि मीठामीठा थोक खाएर तिमीहरू तृप्त हुनेछौ।—यसै. ५५:२.
यहोवाले हामीलाई आफ्नो भविष्य कसरी सुखी बनाउन सक्छौँ भनेर सिकाउनुभएको छ। बकबक गर्ने “मूर्ख आइमाई”-को निम्तो स्विकार्नेहरू अवैध यौनसम्बन्ध राखेर आनन्दित हुन खोज्छन्। यस्तो कामले तिनीहरूलाई “चिहानको गहिराइमा” पुऱ्याउँछ। (हितो. ९:१३, १७, १८) “साँचो बुद्धि”-को निम्तो स्विकार्नेहरूको भविष्य भने फरक हुनेछ। (हितो. ९:१) हामी यहोवाले प्रेम गर्नुहुने कुरालाई प्रेम गर्न र उहाँले घृणा गर्नुहुने कुरालाई घृणा गर्न सिक्दै छौँ। (भज. ९७:१०) अनि अरूलाई पनि “साँचो बुद्धि”-बाट आनन्द उठाउन निम्तो दिँदै छौँ र यस्तो निम्तो दिन पाउँदा हामी खुसी छौँ। एक अर्थमा हामी पनि ती दासीहरूजस्तै हौँ, जसले “सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ: ‘जो-जो अनुभवहीन छन्, तिनीहरू यहाँ आऊन्।’” साँचो बुद्धिको निम्तो स्विकार्दा हामीले अहिले मात्र होइन, भविष्यमा पनि आशिष् पाउनेछौँ। ‘समझशक्तिको बाटोमा अघि बढ्दा’ हामी “दीर्घायु” हुनेछौँ।—हितो. ९:३, ४, ६. w२३.०६ पृ. २४ अनु. १७-१८
आइतबार, नोभेम्बर १६
हतपती नरिसाउने मानिस वीर योद्धाभन्दा असल हो अनि आफ्नो रिस थाम्न सक्ने मानिस सहरलाई जित्ने मानिसभन्दा असल हो।—हितो. १६:३२.
सहकर्मी वा सहपाठीले तपाईँको धर्मबारे सोध्दा तपाईँलाई कस्तो लाग्छ? डर वा चिन्ता लाग्छ कि? हामीमध्ये धेरैलाई त्यस्तै लाग्छ। तर त्यस्तो प्रश्नबाट हामी अर्को व्यक्तिको सोचाइ वा विश्वासबारे थाह पाउन सक्छौँ र तिनलाई सुसमाचार सुनाउने मौका पाउँछौँ। तर कहिलेकाहीँ भने तिनीहरू हामीसित असहमत भएकोले वा वादविवाद गर्न चाहेकोले त्यस्तो प्रश्न सोध्छन्। यसमा हामी अचम्म मान्दैनौँ। किनकि तिनीहरूले हाम्रो विश्वासबारे गलत जानकारी पाएका हुन सक्छन्। (प्रेषि. २८:२२) साथै हामी “अन्तको दिनमा” बाँचिरहेका छौँ अनि यस समयमा थुप्रै मानिस “कुनै पनि कुरामा सहमत नहुने” र “निष्ठुर” हुन्छन्। (२ तिमो. ३:१, ३) कसैले तपाईँको विश्वासको विषयमा वादविवाद गर्न खोज्यो भने तपाईँलाई शान्त अनि विचारशील हुन केले मदत गर्छ? एकै शब्दमा भन्नुपर्दा कोमलताले। कोमल व्यक्ति हतपती रिसाउँदैन बरु कसैले रिस उठाउँदा वा कस्तो जवाफ दिने भनेर पक्का नहुँदा आफ्ना भावनाहरूलाई वशमा राख्छ। w२३.०९ पृ. १४ अनु. १-२